सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले चालू आर्थिक वर्षको ११ महिनामा १९ अर्ब ८६ करोड १३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनको मूल आधार पैठारी रहेको तथ्याकंले देखाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका सूचना अधिकृत धनबहादुर बडुवालले संकलित राजस्वमध्ये सबैभन्दा बढी भन्सार मूल्य अभिवृद्धि करतर्फबाट कुल १० अर्ब ५८ करोड ९२ लाख ६६ हजार २ सय ७ रुपैयाँ असुली भएको बताए । त्यसपछि भन्सार महसुलबाट ८ अर्ब ८६ लाख ६४ हजार ८ सय राजस्व असुली भएको छ । संकलित राजस्वमध्ये सबैभन्दा कम योगदान नै निकासीबाट भएको पनि कार्यालयले जनाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जलाई राजस्व विभागले १८ अर्ब ९० करोड ९ लाख ८६ हजारको लक्ष्य हासिल गर्न सीमा दिएको थियो । उक्त भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्म लक्ष्यभन्दा ५ प्रतिशत अर्थात् ९६ करोड ३ लाख ४९ हजारले बढी राजस्व संकलन गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेढाईले बताए ।
खासगरी भारत तथा तेस्रो मुलुकबाट सोझै रेलमार्फत सामान आयात निर्यात हुने भएकाले मधेस आन्दोलनलगायतका कारण धेरै असर नपरेको उनको भनाइ छ । भन्सार कार्यालयबाट एमएस विलेट, एचआर सिट तथा सीआर सिट, पिग आइरन, प्लास्टिकको दाना, स्टिल वायर रड इन क्वायल, अलकत्रा विटुमिन, तयारी रक्सी, वाइन, अल्कोहलरहित पेय पदार्थ र जीपकार भ्यानलगायतका सामानहरू आउने गरेका छन् ।
यिनै सामानहरूबाट भन्सार राजस्व संकलन बढी हुने गरेको छ । गत आर्थिक वर्ष २०७२÷७३ को सोही अवधिमा भने भन्सार कार्यालयले १५ अर्ब १ करोड ७२ लाख ३२ हजार मात्र राजस्व संकलन गर्न सफल भएको बताएको छ । अन्य भन्सार कार्यालयको भन्दा वीरगन्ज भन्सार कार्यालयबाट राजस्व असुलीको कार्य विगतदेखि नै बढी हुने गरको छ । यसलाई मुलुकको प्रमुख नाकाका रूपमा लिने गरिएको छ ।
राजधानीमा खवर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया